काठमाडौँ जिल्लामा मात्र एकै दिन भेटिए १५ सय बढी संक्रमित

  • प्रकाशित मिति : April 26, 2021
  • साझा मेल

काठमाडौं । कोरोनाभाइरसको हटस्पट बनेको काठमाडौँमा एकै दिन १५ सय ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।

काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यता, नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर गरिएका मध्ये १३३३ जना महिला र २१०९ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

यही अवधिमा थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

देशभर २२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५३५, संस्थागत आइसोलेसनमा १ हजार ८९९, आईसीयूमा २६८ र भेन्टिलेटरमा ७९ रहेका छन् ।