कहिले आउला खोप? सरकार मिति सार्दै अन्योलमा राख्दै!

  • प्रकाशित मिति : June 23, 2021
  • साझा मेल
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौं ।  सरकारले जनतालाई समयमै खोपको उपलब्ध गराउन सकेेेको छैैन   खोपको प्रबन्ध चाडोो  गरिनेछ भनेर सरकार भनि रहेेेको छ तर, अहिलेसम्म पहिलो डोज पाएकाले दोस्रो डोज लगाउने म्यादसमेत गुज्रिसकेको अवस्था छ । कोरोनाको तेस्रो लहर आउने जोखिम बढिरहे पनि सरकार खोप खरीदमा पूरै असफल सावित भएको छ ।

गत वर्षको माघ १४ गते कोरोनाविरुद्धको खोप कार्यक्रमलाई भर्चुअल विधिबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई निशुल्क खोपको प्रवन्ध गरिनेछ ।’

प्रधानमन्त्रीले कोरोना भाइरसविरुद्ध लड्न खोप नै एकमात्र विकल्प भएको बताउँदै खोप लगाउन सबै नेपालीलाई आग्रहसमेत गरेका थिए । उनले भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, । कुनै भेदभावबिना नै सबै नेपालीलाई निःशुल्करूपमा खोप लगाइन्छ ।’

प्रधानमन्त्री ओलीले माघ १४ गते ३ महिना भन्दै गर्दा २०७८ सालको वैशाख १४ गतेसम्म सबै नेपालीले खोप लगाइसकेको हुनुपर्ने थियो । तर, तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउन सम्भव नहुने देखेपछि प्रधानमन्त्री ओलीले बोली फेरे ।

माघ १४ गते तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिन्छु भनेका प्रधानमन्त्री ओलीले त्यसको ७२ घण्टा पनि नबित्दै माघ १७ गते चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सन् २०२१ को अन्त्यसम्म सबै नेपालीलाई खोप दिइसक्ने बताए ।

 

उक्त कार्यक्रममा ओलीले भनेका थिए, ‘मैले भनेको छु एकदमै फोरफ्रन्टमा रहेर कठिनाई झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी ३ महिनाभित्र हामी सम्पन्न गर्नेछौँ र क्रमशः सन् २०२१ भित्र सम्पूर्ण जनतालाई लाइसकेर कोभिड–१९ लाई हामी नेपालबाट भगाउँछौँ । बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

प्रधानमन्त्री ओलीले भनेका सन् २०२१ को अन्त्य भनेको २०७८ सालको पुस १६ गतेभित्र हो । विना तयारी, विना आधार खोपबारे आफ्नो धारणा दिएर सहानुभूति बटुल्न खोजेका प्रधानमन्त्रीलाई आफ्नै भनाइमा विश्वास नलागेपछि तीनदिनमै उनले बोली फेरेका हुन् ।

यसबीचमा प्रधानमन्त्रीले पटक–पटक चाँडै नै सम्पूर्ण नेपालीले निःशुल्करूपमा खोप पाउने दाबी गर्दै आइरहेका छन् । जेठ ९ गते बालुवाटारमा प्रधानमन्त्री ओलीले सम्पादकहरूलाई बोलाएका थिए । त्यहाँ उनले आगामी निर्वाचन अगाडि सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।

 

गत जेठ १४ गते देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पहिलो डोज खोप लगाएका सबैलाई चाँडै दोस्रो डोज खोप उपलब्ध गराउने विश्वास दिलाए । उनले भने, ‘पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाड्ने विश्वास दिलाउन चाहन्छु ।’

गत असार २ गते कोभिड –१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन महिनादेखि लगाउने गरी ४० लाख डोज खोप ल्याउन लागिएको बताए । कोरोना भाइरसविरुद्ध लड्न खोप नै अनिवार्य र महत्वपूर्ण तत्व रहेको भन्दै प्रधानमन्त्री ओलीले आगामी साउन महिनादेखि लगाउने गरी ४० लाख डोज खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।