गण्डकी प्रदेश : डोवाटे विश्वकर्मा मन्त्री नियुक्त

  • प्रकाशित मिति : October 11, 2021
  • साझा मेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।
कांग्रेस सांसद डोबाटे तनहुँका हुन् । उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा अन्तिममा नाम काटिएका विश्वकर्मालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्यमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ ।

पार्टीका शीर्ष नेताहरूले नै विश्वकर्मालाई मन्त्री बनाउन सुझाव दिएपछि मुख्यमन्त्री पोखरेलले सोही अनुसार तयारी थालेको उनले बताए । उनका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्वकर्मालाई मन्त्री बनाउनुपर्नेमा जोड दिएका थिए । उनको नाम काटेर व्यापारिक पृष्ठभूमिका विन्दुकुमार थापालाई मन्त्री बनाएपछि चर्को आलोचना भएको थियो ।

डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।